संक्षिप्त परिचय

यस सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थीत यस हेलम्बु गाउँपालिका साविकका महाङकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरी ५ गा.वि.स. मिलेर गठन भएको हो । अकिकाशं भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएकोयस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ । 
आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु  ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन ।