हेलम्बु गाउँपालिका
बागमती प्रदेश, सिन्धुपाल्चोक,हेलम्बु।
लक्ष्य तथा उद्देश्यहरू नमुना गाउँपालिकाको स्थापना: सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै, दिगो भौतिक पूर्वाधारको विकास गरी हेलम्बुलाई देशकै एक समृद्ध र समुन्नत 'नमुना गाउँपालिका' को रूपमा स्थापित गर्ने । गुणस्तरीय र प्राविधिक शिक्षा: 'अनिवार्य तथा निःशुल्क शिक्षा' को नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विश्व बजारको माग अनुरूपको दक्ष, प्राविधिक र सीपयुक्त जनशक्ति उत्पादन गर्ने। निःशुल्क र सुलभ स्वास्थ्य सेवा: सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सरल पहुँच पुर्याउने, स्वास्थ्य उपचारलाई निःशुल्क बनाउने र स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरी भरपर्दो सेवा सुनिश्चित गर्ने। कृषि तथा पशुपालनमा आत्मनिर्भरता: आधुनिक प्रविधि र रैथाने बिउ बैंकको माध्यमबाट कृषि उत्पादकत्व वृद्धि गर्ने तथा दूध र तरकारीमा आत्मनिर्भर बन्दै निर्यात प्रवर्द्धन गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने। पर्यटन र सांस्कृतिक सम्पदाको विकास: 'हेलम्बु हिमालयन ग्रेट ट्रेल' जस्ता महत्वपूर्ण पूर्वाधारको निर्माण गर्ने र यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्दै हेलम्बुलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने। डिजिटल सुशासन र पेपरलेस सरकार: 'पेपरलेस गभर्मेन्ट' र 'ई-गभर्नेन्स' को अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गरी गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने। जलवायु उत्थानशीलता र विपद् व्यवस्थापन: जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्ने र विपद् जोखिम न्यूनीकरण गरी सुरक्षित तथा उत्थानशील बस्तीहरूको विकास गर्ने ।